७ बैशाख २०८१, शुक्रबार

कोरोनाविरुद्धको बुस्टर खोप अभियान बन्द गर्न डब्लुएचओको आव्हान

who

विश्व स्वास्थ्य संगठनले तत्कालका लागि कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान बन्द गर्न आह्वान गरेको छ ।

धनी र गरिब देशबीच खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै सेप्टेम्बर महिनाको अन्त्यसम्म बुस्टर खोप कार्यक्रम रोक्न डब्लुएचओले आग्रह गरेको हो ।

डब्लुएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अभियान रोकिए गरिब राष्ट्रका कम्तिमा १० प्रतिशत जनसंख्याले खोप लगाउन पाउने बताए ।

इजरायल र जर्मनीसहित अधिकांश देशले कोरोनाविरुद्धको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने घोषणा गरिसकेका छन् । बुस्टर डोजले कोरोना संक्रमण रोक्नेबारे पुष्टि नभएकाले हतार नगर्न उनको आग्रह छ ।

यस्ता घोषणाले गरिब देश खोप लगाउने अभियानमा अझै पछाडि पर्ने उनले जिकिर गरे । आपूर्तिको कमीका कारण कम आय भएका देशमा प्रत्येक एक सय जनाका लागि डेढ डोज मात्र खोप आयात भइरहेको जनाए ।

उनले अब यो नियम परिवर्तन हुनुपर्ने र गरिब देशमा बढी खोप पुग्नुपर्ने तर्क गरे । विश्वमा अहिले कोरोनाको डेल्टा भेरिएन्टको संक्रमण बढ्न थालेपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित भएको छ ।