१५ चैत्र २०८०, बिहीबार

तीन वर्ष अघि बेपत्ता बालिकाको भारतबाट उद्धार

udhar 621x375 1

पर्साको वीरगंज महानगपालिका–११ परवानीपुरबाट हराएकी किशोरीलाई झण्डै ३ वर्ष पछि भारतबाट उद्धार गरी मंगलबार परिवारजनको जिम्मा लगाइएको छ ।

तीन वर्षअघि हराएकी ११ वर्षीया नजरिनालाई अधिकारवादी संस्थाले उद्धार गरेर परिवारजनको जिम्मा लगाएको हो ।

नजरिना हराउदाको उमेर ११ वर्ष थियो भने फेला पर्दा १४ वर्षकी छिन् । भारतको सुपौल जिल्लाबाट उनलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा परिवारलाई बुझाएको उनलाई सेतु सामुदायिक विकास तथा मानव अधिकार संरक्षण मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंहले जानकारी दिए । “सबै सुतिरहेका बेला हराएकी छोरीलाई ३ वर्ष पछि आँखै अघि देख्दा आमा सायदा बोल्नै सकिनन् ।

छोरी हराएपछि छोरा शैफ आलम र पति हसमुल्लाले चारैतिर खोजेपनि फेला परेनन् । केही उपाय नलागे पछि घर मै बसिरहेका थिए । छोरी कै शोकमा पिता हसमुल्लाको २ वर्ष अघि निधन भइसकेकोछ । तर मंगलवार छोरीलाई देखेपछि आमा सायदाको खुशीले आँखा रसायो । उनी त्यो खुशी शब्दमा ब्यक्त गर्न सकिरहेकी थिइनन ।

छोरीलाई जिम्मा लिन औपचारिक कागज गर्न जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी उनले खुशीका आँशु झार्दै भनिन,“खोज्दा खोज्दै फेला नपरेपछि आस मरिसकेको बेला राजविराजबाट डिएसपी माधव प्रसाद काफ्लेले फोन गरेर “छोरी फेला प¥यो लिन आउनु” भने पछि खुशीको सिमा रहेन ।” नजरिनलाई भारत विहार राज्यको दरभंगामा अलपत्र अवस्थामा ३ वर्ष अघि भारतीय प्रहरीले फेला पारेको थियो ।

ठेगाना तथा अभिभावकबारे स्पष्ट बताउन नसकेपछि उनलाई प्रहरी मार्फत जिल्ला बाल संरक्षण इकाई सुपौलको जिम्मा लगाइएको थियो । ती संस्थाले नजरिनलाई भारतको मधुवनीस्थित बाल संरक्षण इकाई केन्द्रमा राखी आफन्तको खोज तलास शुरु गरेको थियो । सोही क्रममा ती संस्थाले मानव अधिकार क्षेत्रमा क्रियाशिल राजविराजस्थित सेतु सामुदायिक विकास तथा मानव अधिकार संरक्षण मंच संग सम्पर्क गरी हुलिया विवरण उपलब्ध गराई आफन्त खोज्न आग्रह गरेको थियो ।

बहिनी हराएकै दिन प्रहरीमा उजुरी दिएको बताएका बालिकाका भाई सैफ आलमले उनी कसरी भारत पुग्यो भन्ने बारे आफुहरुलाई केही थाहा नभएको जानकारी दिए । बालिका समेतले आफु भारत कसरी पुगे भन्ने कुरा थाह नभएको सुनाईन ।

भारतीय बाल संरक्षण इकाइ केन्द्रमा रहेकी बालिकाले अभिभावक तथा आफनो स्पष्ट ठेगाना बताउन नसकेपनि नेपाल र परवानीपुर भन्ने ठाउँ भने बताएपछि उक्त केन्द्र आफनो सम्पर्कमा आएको र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहयोगमा बालिकालाई परिवारको सानिध्यमा ल्याउन सफल भएको उद्धारकर्ता संस्थाकी महिला विभाग प्रमुख एवं राष्ट्रिय महिला आयोगकी सदस्य समेत रहेकी आभा सेतु सिंहले सुनाईन् ।

ठेगाना र अभिभावकका बारेका स्पष्ट जानकारी दिन नसक्दा बालिकालाई घर फर्काउन ढिलाई भएको सिहको भनाई छ । उनले बालिकाको पारिवारीक मिलन गराउन प्रहरी उपरिक्षक राजेन्द्र धमला, डिएसपी माधव प्रसाद काफ्ले तथा जिल्ला प्रहरी कार्यालय पर्साले पनि निकै सहयोग गरेको सुनाईन् ।