६ बैशाख २०८१, बिहीबार

कोरोना खोप अभियान–खोप केन्द्र अझै व्यवस्थित हुन सकेनन्

bhaktapur corona
फाइल फोटो

कोरोनाविरुद्धको खोप लगाउने अभियान देशभर नै सञ्चालन भैरहेको छ । तर सरकारले प्रभावकारी ढंगले नागरिकलाई खोप दिन सकेको छैन । खोप केन्द्र अझै व्यवस्थित हुन सकेका छैनन् ।

सरकारले पछिल्लो समय चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ । चीनबाट प्राप्त भेरोसेल खोप र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सन खोप देशभरका खोप केन्द्रमार्फत नागरिकलाई लगाइएको छ ।

सरकारले जोन्सन एण्ड जोन्सन खोप १५ लाखभन्दा बढी प्राप्त गरेको छ भने भेरोसेल खोप करिब ५० लाख भन्दा बढी खोप प्राप्त गरिसकेको छ । खोप पाइरहे पनि सरकारले भने खोप अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न सकेन । खोप केन्द्रमा भएको भिडभाड र भद्रगोलले पनि खोप अभियान व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकेको स्पष्ट पार्छ ।

सरकार व्यवस्थापनमा त चुक्यो । किनभने खोप केन्द विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम व्यवस्थित गर्न सकेन । सञ्चालन गरिएका खोप केन्द्रमा भिडभाड नियन्त्रण गर्न नसकेसँगै काठमाडौं उपत्यकामा अभियान नै स्थगित गरियो । तर स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का यसलाई स्वीकार्न तयार हुनुहुन्न ।

तर खोप केन्द्रहरुको व्यवस्थापनमा कमीकमजोरी भएको भने उहाँ स्वीकार्नु हुन्छ । सरकारले खोप केन्द्रहरुलाई थोरै खोप दिएका कारण यस्तो भीड बढेको आशंका पनि छ । तर यसलाई सरकारी अधिकारी ठाडै अस्वीकार गर्छन् । सरकारले भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप सम्बन्धित प्रदेशमा वितरण गरिसकेको छ, प्रदेश स्वास्थ्य कार्यालयमार्फत ती खोप जिल्ला हुँदै वडा वडामा पुगेका छन् ।

सबै नागरिक खोपको प्रतिक्षामा छन् । सरकारले खोप प्रभावकारी ढंगले वितरण गरेको दावी गरेपनि, खोप प्राप्त भएअनुसार वितरण हुन सकेको छैन । किनभने आएको खोप लगाउन नपाएर खोप केन्द्रमा पु्गेकाहरु नै फर्कनुपर्ने अवस्था छ । भएका खोपलाई व्यवस्थित ढंगले समयमै लगाउने बातावरण मिलाउनु सरकारको दायित्व हो ।