१३ बैशाख २०८१, बिहीबार

निको भएका मानिसको रगतबाट कोरोना भाइरसको खोप बनाउँदै वैज्ञानिकहरू

corona326

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म १०१ वटा मुलुकमा फैलिइसकेको छ ।

पछिल्लो विवरण अनुसार विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७ हजार २ सय ३३ पुगेको छ । त्यस्तै ३ हजार ६ सय २९ जनाले ज्यान गुमाइसकेका छन् ।

कोभिड-१९ पनि भनिने कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिने चिन्ता बढिरहेको छ । तर वैज्ञानिकहरू भाइरसविरुद्धको खोप र औषधि विकास गर्ने कार्यमा लागिरहेका पनि छन् ।

कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरू निको हुने गरेको पाइन्छ । भाइरसबाट संक्रमित भएका मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता विकास हुने गरेकाले अधिकांश मानिसहरू निको भएका हुन् ।

यसैबीच वैज्ञानिकहरूले रोग लागेपछि निको भएका मानिसको रगत प्रयोग गरेर औषधि बनाइरहेको खबर बाहिर आएको छ ।

बेलायतको डेलीमेलका प्रकाशित एक समाचार अनुसार वैज्ञानिकहरूले निको भएका मानिसको रगतबाट कोभिड-१९ को खोप तयार गरिरहेका छन् । हाल भाइरसविरुद्धको खोप बनाउने कार्य अन्तिम चरणमा पुगेको पनि समाचारमा उल्लेख छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मारमा परेको चीनमा पनि रगतबाट खोप बनाउनेबारे अनुसन्धान भइरहेको छ । त्यस्तै जापानको औषधि उत्पादन कम्पनीले पनि यससम्बन्धी कार्यलाई अघि बढाइरहेको छ ।

मेडिकल शास्त्रका अनुसार कुनै पनि भाइरसबाट निको भएका मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रोटिन पैदा हुने गर्छ । यस खालको प्रोटिनलाई अर्का बिरामीको शरीरमा हाल्दा प्रभावकारी हुने गर्छ ।

रोगसँग लड्ने प्रोटिनलाई एन्टीबडी पनि भनिन्छ । सामान्यतया बिरामी व्यक्तिको शरीरभित्र स्वतः एन्टीबडी विकास हुने गर्छ । यस्तो अवस्थामा औषधि उपलब्ध भएमा रोग चाँडो निको हुन्छ ।

इबोलाको प्रकोप देखिँदा पनि यही विधि अपनाइएको थियो । स्थानीय बिरामीमाझ हाल यही विधिको परीक्षण र प्रयोग भइरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । तर हालसम्म औषधि र खोप विकास गर्न भने सकिएको छैन । एजेन्सी

    सम्बन्धित समाचार...