
बैतडीको शिवनाथ गाउँपालिका–२, मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला नेपाली सेनाको पहलमा नेपाल एकीकरण मार्गमा जोडिएको छ । नेपाल एकीकरकण मार्ग अन्तरगत नेपाली सेनाले बैतडीको शर्मालीगढी किल्ला पुनःनिर्माणसँगै २६३ मिटर लामो पदमार्ग निर्माण गरेको हो ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा सामरिक महत्वका हिसाबले बैतडीकोे शर्मालीगढी किल्ला महत्वपूर्ण किल्ला हो । अंग्रेजसँगको लडाईँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएकोे थियो ।
किल्ला जिर्ण भएपछि नेपाली सेनाको अगुवाईमा १५ लाखको लागतमा २६३ मिटर लामो पदमार्ग निर्माण गरिएको बैतडीस्थित हनुमानध्वज गुल्मले जानकारी दिएको छ । शर्माली गढीको प्रचारप्रसार र संरक्षणका लागि पदमार्ग निर्माण गरिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाले निर्माण गरेको पदमार्ग गाउँपालिकालाई हस्तान्तरण गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
नेपाल एकीकरण र अंग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो । किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् । शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जिर्ण बनेर भत्केपछि किल्ला समेत हराउने अवस्थामा पुगेको थियो । किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाईमा किल्ला पुर्ननिर्माण गरेर पदमार्ग बनाईएको शिवनाथ गाउँपालिका अध्यक्ष साउद बताउनुहुन्छ ।
समुद्री सतहबाट १४७५ मिटर उचाईमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेल्धुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
चारैतिर रानी सल्लाको घना जंगलले घेरिएको शर्मालीगढी किल्लामा पर्ने जंगल क्षेत्र अहिले अमरगढी सामुदायिक वन नामाकरण गरिएको छ । ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरश्चिम प्रदेशकै सबैभन्दा ठूलो र धनी सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।
शर्मालीगढी किल्ला हेर्न बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको ३४ किलोमिटर सडक यातायात पार गरेपछि शिवनाथा गाउँपालिकाको केन्द्र सुल्लेखान पुगिन्छ । शिवनाथको सुल्लेखानबाट ११ किलोमिटर ग्रामीण सडक ओर्लेपछि शर्मालीगढी पुगिन्छ । कच्ची सडकबाट १० मिनेट उकालो चढेर शर्मालीगढी किल्ला अवलोकन गर्न सकिन्छ ।