१२ बैशाख २०८१, बुधबार

प्रहरी हिरासतमा रहेका थुनुवा शौचालयमा पासो लगाई झुन्डिए

death 1 12 11

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा रहेका एक जना कैदीले शौचालयमा पासो लगाई आत्म हत्या गरेका छन् ।

आत्म हत्या गर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नंं २ सिनुरजोडा बस्ने वर्ष ४० पल्टु रविदास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको  छ ।

मृतकले शौचालयको भेन्टिलेसनमा आफ्नै गन्जीले पासो लगाई आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ । बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डेको अवस्थामा शव फेला परेको अन्य थुनवाले प्रहरीलाई जानकारी दिएपछि घटना बाहिर आएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाशराना भाटले जानकारी दिनुभयो ।

मृतक भाइसँगको आपसी विवादमा ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेर प्रहरीले अदालतमा मुद्दा पेस गर्दा धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

मृतकको आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानका लागि हिरासतमा राखिएको बेलामा रविदासले मानसिक तनावमा परेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

उता परिवारजनले पल्टुको हत्या भएको दाबी गर्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानव अधिकारकर्मीहरुले घटनास्थलको बिहानै अवलोकन गरेर मृत्युका बारेमा स्थलगत रुपमा अनुगमन एवं जानकारी लिएका छन् ।