१४ बैशाख २०८१, शुक्रबार

सानेपामा अनशनरत कांग्रेस नेताले अनशन तोडे, के–के भयो सहमति ?

congress ansan

नेपाली कांग्रेसका नेता, कार्यकर्ताले अनशन तोडेका छन् । क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका नेताहरुले अनशन तोडेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा १० दिनयता आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएको हो ।

उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । आफूहरुमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडेको केन्द्रीय सदस्य यादवले बताए ।

जिल्ला छानविन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने विश्वास समेत उनले व्यक्त गरे ।

‘बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानविन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नुहुनेछ’ उनले भनेका छन् ।