७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

Corona Dischargde
सांकेतिक तस्विर

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीर रूपमा पालना गर्न विज्ञहरूले सुझाउनु भएको छ ।

काठमाडौँमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्व तयारी’ विषयक अन्तर्क्रियामा जनस्वास्थ्य विज्ञहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्र्याइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिनुभयो ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्र्याइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउन सक्ने बताउनुभयो ।

जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारण फेरि नेपालमा सङ्क्रमण बढिरहेकोले जनस्वास्थ्य मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो ।

जनस्वास्थ्यविद् डा सुन्दरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ ।