७ बैशाख २०८१, शुक्रबार

चितवन दिव्यनगरका छिमेकी दुई नेता गुरुङ र शेरचन बने गण्डकी र लुम्बिनीको प्रदेश प्रमुख

prithibiman gurung 1024x333 1

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई छिमेकी नेता अमिक शेरचन र पृथ्वीमान गुरुङ दुई प्रदेशका प्रमुख बनेका छन् ।

सरकारले चितवनका माओवादी केन्द्रका नेता अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख र कांग्रेसका नेता पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेशको प्रमुख बनाएको हो । संयोग कस्तो परेको छ भने दुवै नेताको घरसँगै रहेको छ भने आपसमा छिमेकी पनि हुन् । उनीहरु दुवैले २०४८ सालको संसदीय निर्वाचनसँगै लडे । शेरचनले जिते र गुरुङ पराजित भए तर संयोग अहिले कांग्रेस र माओवादी गठबन्धनमा दुवै एकसाथ प्रदेश प्रमुख निर्वाचित भए ।

शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख भएका थिए । केपी ओली नेतृत्वको सरकारले केही समय पहिला उनलाई हटाउँदै चितवनकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

म्याग्दीमा जन्मिएका अमिक शेरचनले युवा अवस्थादेखिनै चितवनलाई आफ्नो राजनीतिक थलो बनाए । मोहनविक्रम सिंह र निर्मल लामासँगै उनी कम्युनिस्टको चौमका संस्थापक हुन् । पछि पार्टी विभाजनसँगै लामा पक्षमा लागे । २०४८ सालमा एकताकेन्द्रबाट निर्वाचित ९ सांसदमा चितवनबाट शेरचन विजयी भएका थिए । २०२५ सालदेखि शेरचनसँग संगत गर्दै आएका साहित्यकार ईन्द्र रेग्मीले उनलाई एउटा सरल र स्वच्छ छविका नेताको रुपमा स्मरण गरे ।

त्यस्तै गण्डकी प्रदेशको प्रमुख बनेका नेता गुरुङ नेपाली कांग्रेस चितवनको पूर्वजिल्ला सभापति तथा अहिले कांग्रेसको केन्द्रीय सल्लाहकार हुन् । उनले २०६२ देखि २०६६ सालसम्म चितवन कांग्रेसको नेतृत्व लिएको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

२०३६ सालको जनमत संग्रहताका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन पेसा छाडेर उनी राजनीतिमा होमिएको सभापति श्रेष्ठले बताए । गुरुङले विज्ञानमा एमएस्सी गरेकोले पनि पार्टीभित्र एक विद्धान र परिपक्क नेताको रुपमा उनले परिचय बनाएका छन् । चितवनको एकै ठाउँको दुई नेताले सँगै दुई प्रदेशको प्रमुख पाउनु एउटा संयोग नै मान्नुपर्छ ।