
वरिष्ठ चिकित्सक गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ६ बुँदे खबरदारी पत्र लेख्दै केसीले श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन्।
‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्,’ केसीले विज्ञप्तिमा भनेका छन्।
उनले अब उपरान्त व्यापारी वा व्यवसायीहरूले नेता, तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् भनेका छन्।
केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउन माग गरेका छन् । त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।