१६ चैत्र २०८०, शुक्रबार

संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौंः रवीन्द्र मिश्र

Rabindra Mishra

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उनको अवधारणा छ ।

पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन् । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेका हुन् । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनको धारणा छ ।

आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको ठहर छ । यसैगरी, धर्मनिरपेक्षताको एजेन्डा ६२/६३ को जनआन्दोलन र त्यसको सेरोफेरोमा भएको मधेस आन्दोलनमा नउठेको मिश्रले बताएका छन् ।

उनले लेखेका छन्, ‘स्वीकार गरौँ, धर्म निरपेक्षता २०६२/६३ आन्दोलनमा न त आम नेपालीको, न त अल्पसंख्यामा रहेका धर्मावलम्वीहरूको आम आवाज थियो।’