६ बैशाख २०८१, बिहीबार

मलाई बाहिर जा भन्ने को हुन् उनी ? नेपालले अभद्र व्यवहार गरे

samsadiya samiti 2

प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् !

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ ।

संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा थर्काउँदै राजीनामा दिएर निस्किन आदेश दिएका थिए ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुसी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको भन्दै बधाइ दिएका थिए ।

तर एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भन्दै आक्षेप लगाए । बैठक चलिरहेका आएका कैलालीका सांसद तथा पूर्वमन्त्री नारदमुनि रानाले यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका कैलाली ५ का सांसद रानासँग वरिष्ठ नेता नेपालको राजनीतिक विवाद भएको थियो । आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा सुतेर बसेर आफ्नै सरकार ढाल्ने भन्दै माधवकुमार नेपालमाथि खनिए । उनले अहिले पार्टी विवादको मुख्य दोषी माधव नेपाल रहेको भन्दै यसको जिम्मा उनैले लिनुपर्ने बताए ।

आजको बैठक पनि कार्यसूचीअनुसारकै विषय वस्तुमा छलफल भएर अघि बढ्दै थियो । यहीक्रममा बोल्ने समय पाए समिति सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ।

उनले आफ्नो भनाइ राख्नेक्रममा शुरूमै संसद पुन:स्थापित भएकोमा आफूहरूको हृदय गदगद भएको भन्दै त्यसमा भूमिका खेल्ने सबैलाई धन्यावाद थिए । यसबाट संसद संविधान, लोकतन्त्रको रक्षा भएको र मुलुकको राजनीतिक स्थात्विको निम्तिमा एक पाइल अघि बढिएको टिप्पणी उनले गरे । नेता नेपालको यही भनाइबाटै विषयगत समितिमा राजनीतिक विषयको प्रवेश भयो ।

त्यसपछि नेपाल पक्षकै सांसद दीपकप्रकाश भट्टले उनलाई ‘प्रतिगमनको मतियार’ भन्दै समितिमा बस्ने अधिकार नभएको बताए।

आफूमाथि निरन्तर खनिएपछि नेता नेपालले प्रतिप्रश्न गरे, ‘प्रतिगमनको मतियार बन्ने !’ माधव नेपाल आक्रोशित हुँदै रानाप्रति कड्किए- प्रतिगमनको मतियार बन्ने, राजीनामा दिनुस्, निस्किनुस् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी पनि विवादमा मिसिए । जनताको प्रतिनिधिहरूले बनाएको सरकारलाई अदालतले बनाएको भन्ने भन्दै उनले पनि रानाविरुद्ध आक्रोश ओकले ।

समिति सभापति पवित्रा निरौला खरेलले समितिको विषयमा बोल्न रुलिङ गरिन् । ‘पार्टीको कुरा पार्टीमा गर्नुस्, समितिमा समितिकै विषयमा बोल्नुस्’ उनले भनिन् ।

तर सांसद रानाले प्रसंग उठेका कारण भनेको हुँ भन्ने अड्डी कसेपछि नेता नेपाल आक्रोशित भए । उनले रानातिर चोर औला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन । अहिले राजीनामा दिनुस्, गइहाल्नुस् ।’

त्यसपछि बैठक हलमा भएका सबै बोल्ने थाले । सांसदहरुले नियम विपरीत पूर्वमन्त्रीलाई बैठकमा नराख्न आफूले दिएको सल्लाह नमानेको भन्दै सभापतिकै आलोचना गरे ।

‘सरकारमा जानेहरु समितिबाट विदा हुन्छन्, पुनः त्यही समितिमा आउनुपरे पनि सम्बन्धित दलले सभामुखलाई पत्र लेख्नुपर्छ’ माधव नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टल भने । उनले सांसद रानालाई भनेका थिए, ‘यो समितिमा बस्ने अधिकार छैन तपाईलाई, बाहिर जानुस् र निवेदन हालेर आउनुस्’ उनले भने ।

संसद विघटनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री बनाएका थिए । तर सर्वोच्चको आदेशमा १३ दिनमै उनी पदमुक्त भएका थिए ।

एमाले सांसद राना पनि के कम ? मलाई बाहिर जाऊ भन्ने तपाई को हो भन्ने प्रतिप्रश्न गरिरहे । सभापति खरेल बैठकलाई एजेण्डामा ल्याउन पटक पटक प्रयास गर्दा पनि भनाभन चलिरह्यो ।

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सांसद रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारवाही होस् भनि आफूले अडियो मगाएको उनको भनाइ छ ।

रानाले भने, ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौं ।’

राजनीतिक विवाद माधव नेपालले नै सुरु गरेको उल्लेख गर्दै रानाले थपे, ‘परमादेशबाट नियुक्त भएका प्रधानमन्त्रीलाई मैले जनादेशबाट भनिरहनुपर्ने हो ?’

यस्तो थियो विवादको सप्रसंगः

माधव नेपाल : संसद पुन:स्थापित भएकोमा हाम्रो हृदय गदगद भएको छ । त्यसमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएकोमा, साहसपूर्ण भूमिका खेल्नु भएकोमा म मान्य सदस्यहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु । यो कदमले प्रतिनिधिसभालाई जोगाएको छ, व्यवस्थापिकाको रक्षा गरेको छ । न्यायपालिका जोगाएको छ । कार्यपालिका जोगाएको छ । न्यायपालिकाको मर्यादा र सम्मानमा अभिवृद्धि गरेको छ ।

संविधानको रक्षा गरेको छ, लोकतन्त्रको रक्षा गरेको छ । र, मुलुकको राजनीतिक स्थायत्व निम्ति यसले एउटा राम्रो पाइला चालेको छ ।

नादरमुनि राना : (माधव नेपालतिर संकेत गर्दै) केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापना भएको छ । यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो । अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो । सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन । दुवैलाई जनताले ल्याएका होइनन् ।

naradmuni 69