७ बैशाख २०८१, शुक्रबार

माधव नेपालले ओलीका सांसदलाई भने- ‘प्रतिगमनका मतियार बाहिर जानुस्’

माधव नेपालले ओलीका सांसदलाई भने- ‘प्रतिगमनका मतियार बाहिर जानुस्’

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाबीच भनाभन भएको छ।

केही नेता र सांसदले एमालेको एकताका लागि प्रयास गरिरहेका बेला वरिष्ठ नेता नेपालनै आफूभन्दा कनिष्ठ नेतासँग बाझाबाझमै उत्रिनुभयो । एमालेकै सांसदहरु आरोपप्रत्यारोपमा उत्रिएपछि समितिको बैठक अघि बढ्न सकेन ।

स्थान संसदीय समिति भएपनि विवाद चाहिँ एमालेको हो । र, एकताका लागि केही सांसदले दबाब बढाइरहेका बेला भएका यो चर्काचर्कीले एमालेमा एकता सहज छैन भन्ने पुष्टि हुन्छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो। बैठकमा एमाले वरिष्ठ नेता एवम् समिति सदस्य माधवकुमार नेपाल पनि उपस्थित हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा समिति सभापति पवित्रा निरौला खरेलसँगै अघिल्लो लहरमा बसेका नेपालले संसद ब्युँताउन संघर्ष गर्नु परेको र जनताले फेरि संसद ल्याएको भन्दै संसद पुनर्स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

केही समयपछि ओली पक्षका सांसद एवंम निवर्तमान वनमन्त्री नारदमुनि राना बैठकमा प्रवेश गर्नुभयो । रानाले अहिलेको सरकार र संसद सर्वोच्चको आदेशबाट आएको भन्दै एमाले वरिष्ठ नेता नेपालमाथि कटाक्ष गर्नुभयो ।

संसद चाहिएको भन्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेला कहाँ थिए ? भन्दै रानाले व्यंग्य गर्नुभयो । रानाको निशाना वैशाख २८ गते ओलीले विश्वासको मत लिँदा उपस्थित नहुने नेपाल पक्षका २८ सांसदमाथि थियो । त्यति मात्रै होइन ओलीले विश्वासको मत लिँदा घरमा सुतिरहेकाहरुले नै संसद विघटनको अवस्था ल्याएको भन्दै रानाले उनीहरु नै अहिले संसदसंसद भनेर कराउने गरेको कटाक्ष गर्नुभयो । र, यसको जिम्मा वरिष्ठ नेता नेपालले लिनुपर्ने तर्क गर्नुभयो ।

एमाले वरिष्ठ नेता नेपाललाई कटाक्ष गरेपछि नेपाल पक्षीय सांसद दीपक प्रकाश भट्टले चर्को स्वरमा प्रतिगमनका मतियार भन्दै रानालाई रोक्न खोज्नुभयो । भट्टले के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुस् भन्नुभयो ।

त्यसपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालपनि आफैँ प्रतिवादमा उत्रिनुभयो । प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै नेपालले रानालाई बाहिर जानुस राजीनामा दिनुस् भन्न भ्याउनुभयो ।

तर सांसद रानाले विषय आएर आफूले बोलेको र आफूले बोल्न किन नपाउने भनेर प्रतिवाद गर्नुभयो । बाहिर जानुस भन्नेहरुलाई ओली पक्षीय सांसद रानाले बोलाएर आएको भन्दै किन बोलाएको भनेर प्रतिप्रश्न गर्नुभयो ।

लगत्तै कांग्रेस सांसदहरूले पनि नेता नेपालको समूहलाई साथ दिए। कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै चर्को स्वरमा आपत्ति जनाउनुभयो ।

समिति सभापति खरेलले बोलिरहेका रानालाई नै समय दिन खोज्नुभयो । तर दीपकप्रकाश भट्टले रानालाई समय दिए पनि बोल्न छोड्नुभएन । भट्टले पार्टी भित्रको विषय किन समितिमा ल्याएको भनेर आपत्ति जनाउनुभयो । रानाले तपाईँले बोलेकोले बोलेको भनेर जवाफ दिनुभयो ।

सभापतिको अनुमतिले सांसद राना फेरि बोल्न थाल्नुभयो । तर सँगै बसेका माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँसित सित विवाद भयो ।

विवाद चकिँदै गयो, एमाले वरिष्ठ नेता नेपालले विवाद मिलाउने प्रयास गर्नुभएन, बरु सुनेर बसिरहनुभयो । अरुले पनि त्यस्तै गरे । विवाद चर्किएपछि आक्रोशित समिति सभापति पवित्रा निरौलाले पार्टीको कुरा पार्टीमा गर्नुस समितिमा समितिको कुरा गर्नुस् भन्दै शान्त रहन आग्रह गर्नुभयो र सांसद रानालाई बोल्न भन्नुभयो । रानाले बोल्न लाग्दा फेरि एमालेको नेपाल पक्षकै सांसद दीपकप्रकाश भट्टले प्रतिगमनका मतियारले बोल्न पाईन्न भनेर रोक्न खोज्नुभयो ।

विवाद चर्किँदै गयो, एमाले वरिष्ठ नेता नेपाल बैठकबाट निस्किनुभयो, अरू सांसद पनि बैठक कक्षबाट बाहिरिए। समिति विषय नै प्रवेश नगरी सक्कियो। समिति भित्रको यो विवादले एमाले भित्रको विवाद कति पेचिलो छ र एकताको कुरा गरेन व्यवहारम सहज छैन भन्ने प्रष्ट भएको छ ।