१४ बैशाख २०८१, शुक्रबार

नेपाललाई एक महिना रक्सी र मासु बन्द गरौँ : सांसद चौधरी

Tejulal chaudhary

विश्‍वका ८० भन्दा धेरै देशमा नोभल कोरोना भाइरसले महामारी लिइरहेका बेला नेपालमा सरकारको तयारी नभएको भन्दै सांसदहरुले आलोचना गरेका छन्।

सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना मात्र भए पनि देशलाई शाकाहारी घोषणा गर्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो बताएका हुन्।

कोरोना भाइरस (कोभिड १९) का कारण विश्व समुदाय आक्रान्त भइरहेको बेला सरकार यो विषयमा सचेत नभएको भन्दै उनले त्यसको नियन्त्रणका निम्त शाकाहारी देश घोषणा गर्न माग गरेका हुन्।

‘सरकारले कम्तिमा पनि एक महिनाका लागि शाकाहारी देश घोषणा गरोस्’, उनले भने, ‘एक महिनाका लागि कम्तिमा रक्सीमुक्त देश बनाओस्। सरकारलाई यही आग्रह गर्न चाहन्छु।’

उनले कोरोना संक्रमणको विषयमा भय र त्रासलाई कम गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद चौधरीले स्वास्थ्य, आपूर्ति र श्रम मन्त्रालयले कोरोना नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहने तर त्यो नभएको आपत्ति जनाए।

स्वास्थ्य मन्त्रालयले जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने, आपूर्ति मन्त्रालयले बजारको अभाव नियन्त्रण गर्दै जनताका लागि अन्त्यावश्यक खाद्यान्त सहज बनाउन नसकेको र श्रम मन्त्रालयले कोरोना संक्रमित देशमा जाने नेपाली युवालाई रोक्न नसकेको भन्दै आपत्ति जनाएका हुन्।

उनले चीनबाट १७५ विद्यार्थी उद्धार गर्न १५ दिन तयारी गर्नु परेको सम्झना गर्दै कोरोनाविरुद्ध लड्न अगाडि नै तयारी गर्नुपर्नेमा जोड दिए। सरकारले कार्यक्रम र भेला गर्न रोकेको तर कडाई नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।