१४ बैशाख २०८१, शुक्रबार

एमाले सांसद रानाको अभिव्यक्तिले संसदीय समितिमा यस्तो विवाद र होहल्ला

samsadiya samiti

नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चर्को विवाद र होहल्ला भएको छ ।

सांसद रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल खनाल समूहका सांसद प्रतिवादमा उत्रेका हुन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नै रानाको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्नुभएको छ । एमाले वरिष्ठ नेता नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिनुभयो । एमालेकै सांसद दीपकप्रकाश भट्टले पनि रानाको कडा प्रतिवाद गर्नुभयो ।

रानाले संसद् चाहिनेहरू वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहाँ थिए भन्ने प्रश्न गर्दै आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने भनेर आक्रोश व्यक्त गर्नुभएको थियो ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरेका थिए । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकाले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका थिए ।