८ बैशाख २०८१, शनिबार

काठमाडौंबाट पोखरा उडेको यतीको विमान आकस्मिक अवतरण

yeti air

यती एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

बिहीबार बिहान ८ः५० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको यति एअरलाईन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्राविधिक समस्या आएपछि विमानलाई फर्काएर अवतरण गरिएको बताए ।

‘इन्डिकेटरले काम नगरेको शंका लागेमा पाइलटले जोखिम लिँदैनन्, आज त्यही भएको हो,’ प्रवक्ता कर्णले भने ।

अवतरणपछि प्राविधिक परीक्षण गर्दा विमानमा खराबी नरहेको भेटिएको छ । लगत्तै विमान गन्तव्यतर्फ उडेको कर्णले जानकारी दिए ।

मन्त्री अर्याल स्याङ्जा जिल्लामा जग्गाको पुन:नाप नक्साको शुभारम्भ एवं नापी कार्यलय वालिङ्को नव निर्मित भवन समुद्घाटन त्यसतर्फ जान लागेकी हुन् ।