
सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत आज छनोट चरणमा कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।
असाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलव ८ स्कोर जोड्दै आफ्नो ओलम्पिक यात्रा टुंग्याइन् ।
यसअघि उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर, उनी ओलम्पिकको फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।
यो स्पर्धामा कम्तिमा ६ सय २८ दशमलव ५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए ।