१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं, जनयुद्ध के का लागि ? संसद त्यागेर सडकमा आउनुस्

bam neta 1 69

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद त्यागेर सडकमा आउन सुझाव दिएका छन् ।

अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्नेमा जोड दिएका हुन्। ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वैद्यले भने, ‘त्यही संसदीय बाटो रोजेर कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ ? कोर्ष परिवर्तन गर्नुहोस् । संसद छोड्नुहोस्, जनताको पक्षमा काम गर्न सडकमा आउनुहोस् ।’

वैद्यले के जनयुद्ध यही संसदीय व्यवस्थाका लागि भएको हो ? भन्दै प्रश्न समेत गरे । अहिले शासन व्यवस्थामा परिवर्तन आए पनि राज्यवस्थामा भने परिवर्तन नआएको विश्लेषण गरे ।

संसदीय बाटोबाट समाजवाद ल्याउने दावी प्रचण्ड र माधव नेपालले गरिरहेको भन्दै उनीहरूमा खासै फरक नभएको टिप्पणी गरे ।
यही संसदलाई बचाएर राख्ने, सबै मिलेर चुनाव लड्ने नीतिमा प्रचण्ड र माधव नेपाल रहेको उनको भनाइ छ ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिए ।

सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उनले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताए ।

केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गरेका थिए ।

‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो । पानीजहाज र रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ । यस्तै बुद्धिले रेल आउँछ र ?” अध्यक्ष वैद्यले भने ।

संसदमा रहेका र सडकमा रहेका कम्युनिष्टहरूबीच कार्यगत एकता गर्नुपर्नेमा वैद्यको जोड छ । ‘संसदमा जानेले एउटा काम गर्नुपर्‍यो, सडकमा भएकाले कम्युनिष्टले अर्को काम गर्नुपर्‍यो,’ उनले भने, ‘दुवै पक्षले कार्यगत एकता गर्नुपर्‍यो । संसदमा भएकाले संसदमा संघर्ष गर्नुपर्‍यो, सडकमा भएकाले आफ्नै तरिकाले गर्नुहुन्छ ।’