
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको भएपनि उनले गलत ब्याख्या गरेको आरोप लगाएका हुन् ।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेता नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताएपछि जवाफमा देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि गलत व्याख्या गरेको आरोप लगाए ।
उनले भने, ‘पूर्वसभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँडनुभयो । त्यो संविधानमा ७६ (५) किन लेख्नु भयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’
प्रधानमन्त्री देउवाले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरूलाई ह्वीप नलगाएको दावी गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’, उनले भने’ ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर उल्टो कुरा गर्नु भयो ।”
सदनमा बधाईप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले ऋण लिएर जतिसुकै महंगो परे पनि सबै नेपालीलाई कोरोना खोप पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारेका थिए ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसदमा विश्वासको मत लिन सकिने भएपनि त्यस्तो हुन नसकेको उनले बताउनुभयो । उनले विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप नलगाइएको स्पष्ट पारेका थिए ।
प्रतिनिसभा बैठकमा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।
तिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार १ बजे बोलाइएको छ ।