१५ चैत्र २०८०, बिहीबार

ओलीकै लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्कियो : मातृका यादव

218329178 2905006746422630 8483646269041040615 n 750x375 1

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

कमला नदीले कटान गर्न थालेपछि स्थलगत निरीक्षणका लागि आएका यादवले बाँध निर्माण कार्यको अगुवाई गर्दै विगतमा सरकारले ध्यान नदिएका कारण यो अवस्था आएको आरोप लगाए । उनले स्थानीयवासी समक्ष कुरा गर्दै ओली सरकारमा आफू मन्त्री रहेका बखत कमला नदीको तटबन्ध गर्न आफूले पटक पटक ओलीलाई आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाए । यादवले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई कमला नदीको कटान र बढ्दो जोखिमबारे जानकारी गराएर बजेटको व्यवस्था गर्न आग्रह गरिसकेका छन् ।

धनुषा–सिरहाको सीमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । कटान बढ्दै गएपछि पूर्वमन्त्री यादव स्वयम् स्थलगत निरीक्षणमा पुगेका हुन् । उनको अग्रसरतामा हाल बाँध निर्माण कार्य भइरहेको छ । पूर्वमन्त्री यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्रको निरीक्षण गरी कटान नियन्त्रणका लागि काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार कमला नदीमा तटबन्ध निर्माणको काम थालिएको छ । बाँध निर्माण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेत सहभागी भएका छन् ।

गत सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान भएपछि समस्या उत्पन्न भएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँधसमेत जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । केही दिन यता नदी नियन्त्रणको प्रयासस्वरुप बाँध बाँध्ने कार्य भईरहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जनाए ।