१५ चैत्र २०८०, बिहीबार

काठमाडौं उपत्यका यातायात व्यवसायी आन्दोलित, सडकमा ट्राफिक अस्तव्यस्त

transport strike 1 69

भाडा समायोजन गर्नु पर्ने माग राख्दै काठमाडौं उपत्यका लगायत छोटोदुरीमा गुड्ने बस व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले यात्रु विनै खाली गाडी सडकमा गुडाएर चक्काजाम गर्दै आन्दोलन गरेका छन् ।

व्यवसायीहरूले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा समायोजन गरेको तर छोटो दुरीमा गुड्ने गाडीहरुमा भाडा समायोजन नगरेको भन्दै बिहीबार चक्रपथ र अन्य सडकहरुमा खाली गाडी गुडाएर आन्दोलन गरेका छन् । इन्धनको मूल्य पटक पटक बृद्धि भएको, महँगी बढेको, राजश्वमा बृद्धि गरेको तर भाडामा नाे वर्षदेखि समायोजन नगरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौलाले बताउनुभयो ।

सबै क्षेत्रमा गुड्ने सार्वजनिक सवारीमा समान रुपमा भाडा समायोजनको माग गरे पनि वेवास्ता गरे पछि सडकमै उत्रिनु परेको उहाँले बताउनुभयो । दुई वर्षदेखि ठप्प भएको यातायात व्यवसायमा सरकारले सहुलियत र मजदुरका लागि राहतको व्यवस्था गर्न पटक पटक माग गरे पनि सुनुवाई नभएको उहाँले गुनासो पोख्नुभयो ।

transport strike 1

सरकारले असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदनले अन्तरप्रदेशस्तरमा भाडादर समायोजन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई दिएको र प्रदेश भित्र र स्थानीयतह भित्र सञ्चालित सार्वजनिक सवारीसाधनका लागि भने सम्वन्धित प्रदेश सरकार र स्थानीयतहले भाडादर समायोजन गर्ने अधिकार दिएकाले विभागको जिम्मेवारी नभएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ रिजालले बताउनुभयो ।

वागमती प्रदेश सरकारका प्रवक्ता रमेशकुमार उपाध्याय लुइँटेलले भने प्रदेशभित्र सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन बारे छलफल मात्र शुरु भएकाले केही दिनमा भाडासमायोजन बारे टुङगोमा पुग्ने बताउनुभयो । निर्णय विननै व्यवसायीहरुले आफुखुसी भाडा असुले पछि प्रहरीले दैनिक सय भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको प्रहरीको तथ्याङक छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान ढंगोलले आफ्नो क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा समायोजन बारे छलफल शुरु गरेको भन्दै तत्काल आन्दोलनकै अवस्थामा नगइ व्यवसायीहरुलाई धैर्य गर्न अनुरोध गर्नुभयो । हामी हाम्रो क्षेत्रभित्रका सवारीसाधनमा उचित भाडा समायोजन गर्ने तयारीमा छौ उहाँले भन्नुभयो ।

सरकारले २०६५ चैत २० गते देखि बैज्ञानिक भाडा निर्धारण प्रकृया शुरु गरेको थियो । २०६९ साल पछि पहिलो पटक सरकारले भाडा समायोजन गरेको छ तर सबै क्षेत्रमा गुड्ने सवारीसाधनमा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् । ३५ प्रतिशतसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि र बाँकी मजदुर, लुब्रिकेन्ट, टायर, बैंक व्याज लगायतबाट ६५ प्रतिशतलाई आधारमानी भाडा समायोजन गर्नु पर्ने माग व्यबसायीकाे छ ।

bus1626934953