६ बैशाख २०८१, बिहीबार

राजीनामा पछी डा. युवराज खतिवडा पुनः मन्त्री नियुक्त

Finance Minister Yubaraj Khatiwada

डा. युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधिमा पुनः नियुक्त भएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रालय हेर्ने गरी फेरि मन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा बुधबार खतिवडालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा, ‘मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ’ भनिएको छ।

दुई वर्षअघि संसदीय चुनाव भएपछि संसद नरहेका व्यक्ति मन्त्री भएको यो पहिलो पटक हो। यसअघि २०७४ फागुनमा मन्त्री हुँदा खतिवडाले राष्ट्रिय सभा सदस्यको सपथ लिएका थिएनन् तर नियुक्त भने भइसकेका थिए।

खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।