१३ बैशाख २०८१, बिहीबार

ओलीबिनाको एमाले बनाउने तयारीमा नेपाल–खनाल समूहमा

madhav jhalanath

नेकपा एमालेको माधवकुमार नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीबिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको हो ।

१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले बताउनुभयो ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट ८ जना सांसद थपिएको र अरु पनि सम्पर्कमा रहेको बताउनुभयो । चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानून व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताउनुभयो ।

सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्ने र नभए कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको उहाँको भनाइ छ ।

सरकारमा सहभागिताबारे भने कानूनी परामर्श भइरहेको र सरकारमा गए वापत सांसद पद नजाने कुराको ग्यारेन्टी भएमा त्यो निर्णय गर्ने नेपाल पक्षको तयारी छ ।

नेपाल पक्षले आज आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरुसहितको बैठक बोलाएको छ। ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटीको बैठक बोलाइएको छ ।