१६ चैत्र २०८०, शुक्रबार

विद्यालय बन्द हुँदा सल्यानका ६० हजार विद्यार्थीको पठनपाठन प्रभावित

Students Assembly
फाइल फोटो

सल्यान, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै विद्यालय बन्द हुँदा सल्यानका ६० हजार विद्यार्थी प्रभावित भएका छन् । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगिसक्दा समेत विद्यालय सञ्चालन हुन सकिरहेको छैन ।

विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने भनिए पनि पहाडी जिल्ला भएकाले सफल हुन सकिरहेको छैन । सदरमुकाम समेत रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठन पाठन गराएको भए पनि जिल्लाका अधिकांश विद्यालय बन्द नै रहेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका पाँच सय विद्यालयका ६० हजार विद्यार्थी घरायसी कामकाज तथा मजदुरीमा व्यस्त हुँदै आइरहेका छन् ।

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने योजना भए पनि सबै ठाउँमा फोन नलाग्ने हुँदा रोकिएको श्री जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका ३ फारुलाका प्रधानाध्यापक मिनराज वलीले बताए । उनले भने ‘गत वर्ष त टोल टोलमा गएर पढाउने व्यवस्था गरेका थियौँ तर यो वर्ष अहिलेसम्म केही गर्न सकिएको छैन ।’

सामुदायिक विद्यालयमा अधिकांश विपन्न बालबालिकाले अध्ययन गर्ने र सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको जनता माध्यमिक विद्यालय कुमाख गाउँपालिका ३ रोगेचौरका प्रधानाध्यापक गोरख बुढाथोकीले बताए । उनले भने ‘इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या हुनुका साथै कोरोना संक्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न समस्या भएको छ ।’ विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थी भए पनि अहिले सम्म पठन पाठन नहुँदा समस्या उत्पन्न भएको उनको भनाई छ ।

शारदा नगरपालिका १ सितलपार्टीमा रहेको शिवजन माध्यमिक विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ । कक्षा ६ देखि १० सम्म अनलाइनको माध्यमबाट कक्षा सञ्चालन भइरहेको प्रधानाध्यापक हिरालाल नेपालीले बताए । अनलाइन कक्षा सञ्चालन गरेको भए पनि जम्मा विद्यार्थीको झन्डै ३० प्रतिशत विद्यार्थी मात्र अनलाइनको पहुँचमा रहेको र अन्यलाई जोड्ने प्रयास भइरहेको उनको भनाई छ ।