१५ बैशाख २०८१, शनिबार

ओलीलाई अध्यक्षबाटै हटाउने माधव समूहको योजना, थप सांसद आफ्नो पक्षमा आउने दाबी

kp oli madhav nepal

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेको बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।

आफूहरूको माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको उहाँले बताउनुभयो ।

यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताउनुभयो । अबको १५/२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिनुभयो ।