७ बैशाख २०८१, शुक्रबार

केन्द्रिय कमिटी बैठक सकियो: माधव समूहलाई कारवाहीबारे निर्णय भएन

uml comittee meeting

नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए ।

हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।

ज्ञवालीका अनुसार आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए ।

२४ घन्टे स्पष्टीकरणको जवाफ नदिएको विषयमा पत्रकारले प्रश्न गर्दा ज्ञवालीले २४ घन्टा पूरा नभएको भन्दै पन्छाए । सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनको भनाइ थियो । पत्र अहिलेसम्म नपाएको विषयमा उनले भने, ‘पुग्दै होला ।’ बैठक बुधबार ३ बजे बस्ने गरी सकिएको छ।

आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।