१५ बैशाख २०८१, शनिबार

ओलीद्वारा नेपाल ‘गद्धार’ भएको घोषणा, एमालेमा कुनै स्थान नरहेको प्रष्टिकरण

kp oli 4 68

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै फेरि चर्को आलोचना गर्नुभएको छ ।

आजदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई ‘कम्युनिस्ट आन्दोलनकै गद्दार भएको’ आरोप लगाउनुभयो । ओलीले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणा समेत गर्नुभयो ।

अरु गल्ती स्वीकार गरेर, सच्चिएर आए स्वागत गर्ने तर माधवकुमार नेपाललाई कुनै ठाउँ नदिने ओलीले बताउनुभयो । देउवालाई भोट हाल्ने काम ‘चरम अनैतिक’ भन्दै ओलीले सबैलाई कारवाही गर्ने बताउनुभयो ।

पार्टीप्रति गद्दारी गर्नेलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै नरहने पनि ओलीले बताउनुभयो । अध्यक्ष ओलीले कम्यूनिष्ट सरकार बनेर लोकप्रिय काम गरेपछि पार्टीमा संकट आउने गरेको बताउनुभयो । प्रतिक्रियावादी शक्तिसित मिलेर पार्टीमा अन्तर्घात भएको ओलीले टिप्पणी गर्नुभयो ।

०५१ सालमा पार्टीको सरकार बनेर लोकप्रिय काम गरेको र ०५६ सालको चुनावमा बहुमत ल्याउने अवस्था आउनै लाग्दा त्यसअघि नै पार्टी विभाजन गरिएको ओलीले बताउनुभयो । अहिले पनि अवस्था त्यस्तै रहेको ओलीको भनाई छ ।

ओलीले वरिष्ठ नेता नेपाल मात्रै होईन, माओवादी केन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले जनविरोधी काम थाल्ने र सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला गर्ने आरोप लगाउनुभयो ।

यस्तै माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भन्दै आलोचना गर्नुभयो । तर अहिले उ शिथिल भएको ओलीको टिप्पणी छ । एमालेको प्रतिपक्षी भूमिकाबारे बोल्दै ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन पनि निर्देशन दिनुभयो ।