१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डको ओलीलाई चेतावनी: आगोसँग खेल्नु राम्रो होइन, आगो फेरि सल्किनसक्छ

prachanda

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा समर्थन जनाउँदै उहाँले मनोगत, अहङ्कार र व्यक्तिवादी गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उहाँले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गर्नुभयो ।

निरङ्कुशताविरुद्धको आन्दोलन दलहरू मिलेर गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक वर्षका बीचमा प्रतिनिधिसभाको विघटन र सर्वाेच्च अदालतबाट पुनस्र्थापनाका घटना नेपालको इतिहासमा नभएको बताउनुभयो ।

प्रचण्डले भन्नु भयो, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

उहाँले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गनुएभयो । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’

माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको र त्यो आन्दोलनलाई नेतृत्व गर्ने आफूहरु जिउँदै रहेकाले मिचेर अगाडि बढ्न सहज नभएको बताउनु भयो । माओवादी आन्दोलनबाट आएका आफूहरुलाई अपमानित गर्न खोजेर यिनीहरु निमोठिन्छन् भन्ने नठान्न प्रचण्डले सचेत गराभएको हो ।

राजनीतिक स्थिरताका लागि वाम गठबन्धन हुँदै दुई तिहाइको सरकार बनाउने र पार्टी एकताको पहलकर्ताले पटकपटक संसद् विघटन भएको देख्नु दुखद भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले बारम्बार संविधान र लोकतन्त्रलाई मिच्ने कोसिस भएकाले नयाँ सत्ता गठबन्धन निर्माण गर्नुपरेको अवगत गराउनुभयो ।

उहाँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देउवाको शपथग्रहण समारोह र आजको सदनको बैठकमा सम्बोधन गर्न नआउनु भएकामा आफूलाई अस्वाभाविक लागेको टिप्पणी गर्नुभयो ।

विगतका अनुभवका आधारमा जतिखेर पनि सदन विघटन गर्न नपाइने व्यवस्थाका लागि संविधान निर्माणका बेला बहस गरिएको स्मरण गराउँदै प्रचण्डले संविधानको ७६ (५) प्रतिनिधिसभाको विशेषाधिकार भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यस धारामा कुनै पनि दलका सांसदले बहुमत सिद्ध गर्ने सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने भनिएको छ । यो सांसदले विवेक प्रयोग गर्ने धारा हो, सर्वाेच्च अदालतले त्यही व्याख्या गरेर संविधान र प्रतिनिधिसभा बचाएर गलत बाटोमा लानबाट रोकिएको छ ।”

उहाँले कम्युनिष्ट पार्टीलाई एकताबद्ध तुल्याउन र पाँचै वर्ष सरकार चलाउन आफूले प्रस्ताव गरे पनि त्यसलाई सहीरूपमा पालना नगरिएको गुनासो गर्दै माओवादीको ताप सकिएको ठानेर हेप्न वा अपमानित गर्न थालिएमा पुनः आगो सल्किने चेतावनी दिनुभयो ।