११ आश्विन २०७८, सोमबार

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित

sherbadhur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने जानकारी गराइसकेकोले देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो ।

विश्वास मतका पारित हुनका लागि आवश्यक न्यूनतम १३६ को संख्या पार हुने निश्चित भएपछि संसद अधिवेशनको पहिलो दिन नै विश्वासको मत लिने निर्णय देउवाले गरेका हुन्।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुगेको छ ।

त्यसबाहेक राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिदैछन् । यसरी देउवाको पक्षमा नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित भएको छ ।