१३ बैशाख २०८१, बिहीबार

अभिनेत्री पल्पसा डंगोलको मृगौलामा समस्या, अस्पताल भर्ना

palpasa dangol

मृगौलाको समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना हुनुभएको छ । हाँस्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का उपनामबाट ख्याती पाउनुभएकी पल्पसा डंगोल केही दिनअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँको दुई वटै मृगौला (किड्नी) फेल भएकाे छ । टिचिङ अस्पतालमा भर्ना हुनुभएकी डंगोलको किड्नी नै फेल भएकाले किड्नी फेर्ने बाहेकको अरु विकल्प नभएको उहाँकी छोरी लुनिभाः डंगोलले बताउनुभयो । उहाँले भन्नुभयो,“आमाको दुई वटै मृगौला फेल छ, मृगौला फेर्नुबाहेक अरु विकल्प छैन, आमा पाँच वर्षदेखि विरामी हुनुहुन्छ ।” किड्नी पाउन धेरै गाह्रो भएकाले किड्की मिलाई दिन पल्पसा डंगोलले एक युट्यूब च्यानलमा भिडियोमार्फत् सहयोग गर्न अपिलसमेत गर्नुभएको छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा देखिएको समस्यापछि उपचार गरेर घर फर्किनुभएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गर्नुपरेको हो । उहाँले भन्नुभयो,“केही समयदेखि उहाँले डाइलासिस गरे पनि अहिले डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् ।” निर्देशक निरौलाले सामाजिक सञ्जालमार्फत् सहयोगको अपिल गर्नुभएको छ ।

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ मा अभिनय गर्दै आउनुभएकी अभिनेत्री पल्पसाले नेपालीसहित नेपालभाषा (नेवारी)का टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोहरुमासमेत अभिनय गरिसक्नुभएको छ । उहाँ टेलिफिल्म ‘दृष्टि’ को निर्देशक हुनुहुन्छ ।

    सम्बन्धित समाचार...