६ बैशाख २०८१, बिहीबार

देउवालाई मत दिए आजैबाट एमाले नरहने, नेपाल एक्लैले भए पनि पक्षमा मत दिने

uml standin commeet

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहने निर्णय गरेको छ।

एमालेले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

माधवकुमार नेपाल लगायतका नेताहरूले देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि पार्टी स्थायी कमिटीको बैठक राखेर एमालेले सो निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

‘माधव नेपालले अरू कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनु भयो। सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ। वहाँ अब एमालेमा रहनुहुन्न ,’ बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।

पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने ज्ञवालीले बताए ।