६ बैशाख २०८१, बिहीबार

राजिनामा दिए लगत्तै खतिवडा फेरी अर्थमन्त्री हुने निश्चित

Finance Minister Yubaraj Khatiwada

राष्ट्रियसभा सदस्य पदको अवधि सकिएपछि डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । खतिवडा सहित १९ जना राष्ट्रियसभा सदस्यको पद मंगलबार सकिएको हो । दुई वर्षे कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका खतिवडा अर्थ मन्त्रालय पुगेका थिए।

मन्त्रालय स्रोतका अनुसार, खतिवडाले पदबाट समेत राजीनामा दिएका छन् । खतिवडा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । निर्वाचित १८ सदस्यको ठाउँमा भने गएको ९ माघमा निर्वाचन भइसकेको छ।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतका अनुसार खतिवडाले बुधबार फेरि मन्त्रीको सपथ लिन सक्ने सम्भावना छ।

खतिवडाको ठाउँमा भने अहिलेसम्म मनोनीत हुने व्यक्तिबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद छ । तर, अर्थमन्त्रीमा भने खतिवडाले नै निरन्तरता पाउने भएका छन्।

एक मन्त्रीका अनुसार, खतिवडालाई भोलि (बुधबार) शपथ गराउने तयारी भएको छ । ती मन्त्रीका अनुसार, सांसद नभए पनि खतिवडा नै अर्थमन्त्री हुनेछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि खतिवडालाई नै निरन्तरता दिइने बताए । “राष्ट्रपतिले खतिवडालाई नै अर्थमन्त्रीमा शपथ गराउनु हुनेछ”, उनले भने ।

शपथको समय भने निश्चित भइसकेको छैन । राष्ट्रपति कार्यालयका अनुसार, आज साँझसम्म शपथको समय निर्धारण हुनेछ । सांसद पद नरहे पनि मन्त्री हुनसक्ने संवैधानिक प्रावधान रहेको छ । तर, यसरी शपथ लिने मन्त्रीले ६ महीनाभित्र सांसद पदको शपथ लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

यदि, ६ महीनाभित्र सांसद नभए मन्त्री पद स्वतः गुम्नेछ । नेकपाले खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्ने निर्णय गरेको छ । तर, प्रधानमन्त्री ओली भने खतिवडालाई नै निरन्तरता दिने अडानमा छन्।

संविधानअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्छन्। खतिवडा सोही व्यवस्थाअनुसार फेरि मन्त्री नियुक्त हुन लागेको ती स्थायी समिति सदस्यले बताए।