१३ बैशाख २०८१, बिहीबार

देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने एमाले स्थायी कमिटीको निर्णय

uml standing 4 1

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए ।

तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका छन् । ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अश्वस्त विधिबाट सरकार भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’

बैठकले कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए । साथै कार्यदल भंग गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।