२२ बैशाख २०८२, सोमबार

अवैध सम्बन्धका कारण इलाम इजलासकी महिला कर्मचारी बिमलाकुमारीको हत्या आरोपमा प्रहरीका असई पक्राउ

Illam Court woman staff death arrest Finek6

उच्च अदालत विराटनगर, इलाम इजलासकी कार्यालय सहयोगी महिला हत्यामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीका असईलाई पक्राउ गरिएको छ ।

सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली इलाम इजलासकी कार्यालय सहयोगी हुन् ।

इलाम इजलासकी महिला कर्मचारी बिमलाकुमारी पराजुलीको शव कार्यालय परिसरमा भेटिएको थियो । महिलाको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड युवराज बानियाँलाई नियन्त्रणमा लिइएको जनाइएको छ । बानियाँ इलाम इजलासमा कार्यरत न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् । इलाम इजलासका मुख्य न्यायाधीश यादव भने केही दिनयता बिदामा थिए । यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको जनाइएको छ । बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

हत्याको कारण अबैध सम्बन्ध र लेनदेनको विवाद पनि रहेको बताइएको छ ।

आइतबार साझाँ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको हत्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।

सोमबार बिहान पराजुलीको शव अदालत परिसरभित्र भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बानियाँको संलग्नता देखिएपछि उनलाई राति नै पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीका अनुसार आइतबार बेलुका पराजुलीले बानियाँलाई फोन गरेर भेट्न बोलाएकी थिइन् । उनीहरुबीच न्यायाधीश क्वाटरमा भेटघाट भएको थियो । विदामा रहेका न्यायाधीशको क्वाटरको तालाचाबी बानियाँसँग नै थियो ।

क्वाटर भित्र विवादका क्रममा बलात्कारको मुद्दा लगाउछु भनेपछि घाँटी थिचेर हत्या गरेको बानियाँले बयान दिएको प्रहरीले बताएको छ । पराजुलीले लगाएको कानका गहना क्वाटर भित्र भेटिएका थियो। सिक्री भने बानियाँको साथबाट भेटिएको प्रहरीले बताएको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा विवादपछि बानियाँले हत्या गरेको देखियो,’ उनले भने,‘हत्याको कारण अबैध सम्बन्ध र लेनदेनको विवाद पनि छ ।’ बानियाँ र पराजुली दुवै विवाहित हुन् । उनीहरूबीच अवैध सम्बन्ध रहेको प्रहरीले बताएको छ ।