९ जेष्ठ २०८१, बुधबार

आजदेखि पुनः नेपालमा खोप अभियान सञ्चालन हुँदै

1611825170nepal corona vaccine
फाइल फोटो

खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक/सहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको छ । यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक/सहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

प्राथमिकतामा परेर पनि पहिले लगाउन बाँकी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले समेत तोकिएका केन्द्रमा पुगेर खोप लगाउन सक्ने जानकारी मन्त्रालयका प्रवक्ता डा.अधिकारीले दिए ।

सोमवार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५५ उमेर समूहबाहेक पूर्ण र अति अशक्त/शारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ । यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।