१४ बैशाख २०८१, शुक्रबार

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा डोजर लगाएर भत्काइयो

photo 1172021024353 1024x478 1

खोटाङ, धार्मिक तथा पर्यटकीय स्थल खोटाङको बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काइएको छ । बराह पोखरीमा अवस्थित शङ्खेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर निर्माण गरेका घरटहरा बराह पोखरी गाउँपालिकाको जेसिभि लगाएर भत्काइएको हो ।

शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन यसअघि स्थानीय बासिन्दालाई गाउँपालिकाको तर्फबाट तीन पटक समय दिइएको थियो । गाउँपालिकाले दिएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि विसं २०७७ मङ्सिर १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर २१ गते सार्वजनिक जग्गा अतिक्रमण गर्ने २७ जना व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको थियो ।

गाउँपालिकाले जारी गरेको सो अन्तिम सूचनालाई पनि कतिपयले बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । “गाउँपालिकाले सूचना जारी गरेपछि कतिपय स्थानीय बासिन्दाले आफैँ घर भत्काएका थिए”, उहाँले भन्नुभयो, “अधिकांशले एक तला तथा कतिपयले छाना भत्काइसेका थिए । तर, हालसम्म पनि अटेर गरेर बसिरहेका तीन व्यक्तिको सग्लो घरलाई भने सुरक्षाकर्मीको उपस्थितिमा गाउँपालिकाको जेसिभी हालेर भत्काउनु परेको हो ।”

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुँयाल, तिलकबहादुर मगर, गङ्गा विश्वकर्मा, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घरटहरा हटाउन सूचना जारी गरेको थियो । गाउँपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गर्दै आफैँ घरटहरा नभत्काउने स्थानीय बासिन्दाको घरमा गाउँपालिकाको जेसिभी चलाउँदा घरभित्र राखिएका दैनिक उपभोग्य वस्तु घरायसी सामान नै पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मापदण्ड विपरीत स्थानीय बासिन्दाले अतिक्रमण गरेर बनाएका घर तथा टहरा हटाएर सार्वजनिक सम्पत्तिको रक्षा गर्दै गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउने एउटा अभियान सफल भएको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा समावेश बराह पोखरी जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ ।

भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कामसमेत भइरहेको बराहपोखरीको चौतर्फी विकास गर्न गाउँपालिकाको लगानीमा कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गुरुयोजना निर्माण सुरु गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर निर्माण सुरु गरिएको आवधिक गुरुयोजनामा सोही गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल सुनापत्ताल, घोप्टेथलो, गोकुलथुम्कालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रसमेत समेटिएका छन् ।

चारैतिर घना वनजङ्गलको बिचमा एकनासले अचल भएर बसेको विशाल बराह पोखरीमा संसारकै लोपोन्मुख रातो माछा पाइन्छ । मुहान र निकास केही नदेखिने बराहपोखरीको लम्बाई ३३० मिटर र २१० चौडाइ मिटर लामो रहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब १६ कोस टाढा पर्ने बराह पोखरीमा हरेक वर्षको हरिबोधिनी एकादशीमा ठुलो मेला लाग्ने गर्छ । बाह्रै महिना हरियो र टम्म भरिएको पानी देखिने बराह पोखरीमा नुहाए तथा पूजा आराधना गरे मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

विशेष गरी धामी झाँक्रीको मेला लाग्ने बराह पोखरीमा राम नवमी, शिवरात्रि, बाला चतुर्दशी र माघे सङ्क्रान्तिका दिन सतबीज छर्ने प्रचलन छ । करिब पाँच वर्ग किलोमिटर क्षेत्रफल ओगटेको बराह पोखरीमा जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीको पानीले नुहाउने चलन छ ।

प्रचारप्रसार तथा प्रवर्द्धन अभावमा ओझेलमा रहेको बराह पोखरी परापूर्व कालमा १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसको नाम बराह पोखरी भनिएको किंवदन्ती छ । एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेको स्थानीय बासिन्दाको भनाइ छ ।रासस