११ बैशाख २०८१, मंगलवार

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको शुरुवात गर्‍याे : पूर्वमुख्यमन्त्री गुरुङ

prithvi subba gurung meeting

गण्डकी प्रदेशकाे नयाँ सरकारले भ्रष्टाचारको शुरुवात गरिसकेको आराेप नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लगाएको छ ।

गण्डकी प्रदेश सभामा प्रमूख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको शुरुवात गरेको बताउनु भएकाे हो ।

प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ गते नयाँ सरकार गठन भएको छ । कांग्रेस नेता पोखरेल नेतृत्वको सरकारले हालै बजेटबाट १६ करोड रुपैया रकामान्तर गरेको थियो । राताे किताबमा नै नभएका विभिन्न याेजना १० दिनमा सक्ने भन्दै पाेखरेल नेतृत्वकाे सरकारले रकामान्तर गरेकाे भन्दै एमालेले यसअघि नै विराेध गर्दै आएकाे छ ।

बिना योजनाका विभिन्न क्षेत्रमा त्यो रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले त्यो रकम कार्यकर्तालाई बाँडेको आरोप एमाले नेता गुरुङले लगाउनु भएको छ ।

यसअघि एमाले नेता गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदा जाँदै बिना योजनाका ४ अर्ब ५१ कराेड रुपैया रकम बराबरको ठेक्का लगाएको आरोप पोखरेल नेतृत्व सरकारले लगाउँदै आएको छ ।

नयाँ प्रदेश सरकारले लगाएको त्यो आरोप झुठो भएको भन्दै सबै ठेक्का कानुन बमोजिम लगाइएको एमाले नेताको भनाइ छ । प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एक सडक, पालिकादेखि केन्द्र जोड्ने सडक र रणनीतिक महत्वका सडक लगायतका योजना बहुवर्षीय योजनाहरु अन्तर्गतका रहेका स्मरण गराउँदै विकास निर्माणका कुरामा राजनीति नर्गन पनि एमालेको आग्रह गरेको छ ।

आफ्नो नेतृत्वको सरकारले सबै कामकारवाही खुला र पारदर्शी रुपमा गरेको उहाँको भनाइ छ ।