
स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
पीएसजीले भेट्रान डिफेन्डर रामोसलाई फ्रि एजेन्टमार्फत २ वर्षको लागि क्लबमा अनबुन्ध गरेका हुन् । सम्झौता अनुसार ३५ वर्षीय रामोस सन् २०२३ सम्म पीएसजीमा रहनेछन् । पीएसजीले बिहीबार रामोसलाई क्लबमा सार्वजनिक गरेका छन् । अब उनले पीएसजीमा आफ्नो परम्परागत ४ नम्वरको जर्सी लगाउनेछन् ।
पीएसजीमा सम्झौता भएसँगै रामोसले पीएसजीमा सहभागी हुन पाउदा धेरै खुशी लागेको बताएका छन् । ‘यो मेरो जीवनमा ठुलो परिवर्तन हो, यो नयाँ चुनौती हो । म यो दिन कहिल्यै बिर्सन सक्दिन । म यो क्लबको महत्वाकाङ्क्षी परियोजनाको हिस्सा हुन पाएकोमा ठुलो गर्व गर्छु ।’ पीएसजीमा सम्झौतापछि रामोसले भने, ‘यति धेरै स्टार खेलाडीहरु भएको टोलीको एक हिस्सा बन्न पाउँदा खुशी छु । पीएसजी आफैमा इतिहास बोकेको क्लब हो । म यहाँबाट पनि ट्रफीहरु जित्न चहान्छु ।’
पीएसजीमा रामोस रियलका पुर्व सहयात्री केलर नाभास, एन्जल डि मारिया, अचरफ हाकिमीसँग पुर्नमिलन हुनेछ । जुआन बर्नाट, सर्जियो रिको, पाब्लो साराविया र एन्डर हेरेरा उनको स्पेनिस सहयात्री हुनेछन् । रामोस यो सिजन पीएसजीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् । यसअघि पीएसजीले जर्जिनियो वाइनाल्डम र अचरफ हाकिमीलाई अनुबन्ध गरेको थियो ।
चार पटकको च्याम्पियन्स लिग विजेता रामोसको अनुभव पीएसजीलाई फाइदाको विषय हुनेछ । पीएसजी पहिलोपटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेको छ । पीएसजीमा रामोसको सहयात्रीमा अब नेयमार केलियन एमबाप्पे पनि हुनेछन् ।
अब पीएसजीको लक्ष्य नेयमार र एमबाप्पेलाई क्लबमै राख्नु हुनेछ । सन् २०१० को विश्वविजेता टोलीका सदस्य रामोसले गत सिजन चोटका कारण अधिकांश खेल गुमाएका स्पेनको युरोपेली च्याम्पियनसिप र ओलम्पिक टोलीमा स्थान बनाउन असफल भएका थिए ।
क्लबले सार्वजनिक गर्नु अगावै पीएसजीको वेभसाइटमा पीएसजीको नयाँ डिफेन्डर जो ४ नम्वर जर्सीमा देखिनेछन् भनेर समाचार लेखेको थियो । तर लगत्तै उक्त पोस्ट हटाइएको थियो । रामोस बुधबार नै पेरिस पुगेका थिए ।
उनले पीएसजी टीभीसँगको अन्तरवार्तामा चार नम्वर जर्सीबाटै आफुले खेल करियर शुरु गरेको र यो जीवनभर साथ रहेको बताउँदै यही चार नम्वरमा थुप्रै उपाधि जित्न सफल भएको बताएका छन् ।
रियलमा उनले दुई वर्षको सम्झौता माग गरेपनि यसमा सहमति जुट्न नसक्दा उनले सिजनको अन्त्यसँगै रियल छाडेपछि उनी फ्रि एजेन्ट बनेका थिए । रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलका थिए ।
उनले रियलबाट १०१ गोल गरेका छन् । सन् २००५ मा सेभियाबाट रियल पुगेका रामोसले रियलबाट २२ भन्दा बढी उपाधि जितेका छन् । रामोसले रियलबाट ५ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।