१४ बैशाख २०८१, शुक्रबार

लैङ्गिक तथा समावेशिताको विषयमा कानूनी भन्दा पनि व्यवहारिक रुपमा समस्या : निर्वाचन आयोग

Election Commission Nepal

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले लैङ्गिक तथा समावेशिताको विषयमा कानूनी भन्दा पनि व्यवहारिक रुपमा समस्या रहेको बताउनुभएको छ ।

संवैधानिक आयोगका पदाधिकारीहरूसँग आज निर्वाचन आयोगमा भएको निर्वाचन व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न क्षेत्रमा महिला सहभागिताको तुलनामा कार्यकारी पदहरूमा महिलाको उपस्थिति न्यून रहेकोले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकाय बीचको समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षण लगायतका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

कार्यक्रममा लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, समावेशी आयोगका पदाधिकारीको सहभागिता रहेको थियो ।