५ जेष्ठ २०८१, शनिबार

विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरू सक्षम छन् : प्रधानमन्त्री

pm 1

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरू सक्षम रहेको बताउनु भएको छ ।

नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले हरेक नागरिकलाई आ–आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताउनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न अभाव र विभेदरहित, शान्त, सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउनुहुँदै प्रधानमन्त्रीले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिक कालमा रहेको समतामूलक समाज जरुरी भएको बताउनुभयो ।

“हामी मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौं भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले देशमा शिक्षा आर्जन गर्ने अधिकार ७० वर्षअघि मात्रै प्राप्त भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको बताउनुभयो । नेपालले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उहाँले बताउनुभयो ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाई प्रधानमन्त्रीको थियो ।

“हाम्रा डाक्टरहरू अलि सुरा हुनुहुन्छ जस्तो लाग्यो । बाहिरका डाक्टरहरूले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गर्नु भएको थियो, तर यहाँका डाक्टरले हामीले गर्छौ भन्नुभयो” ।

पहिलो पटक गर्दा बारम्बार सङ्क्रमणहरूले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो ।

प्रधानमन्त्रीले नेपालीहरूमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरूबाट विज्ञानका ठुला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो ।

सम्माननीय प्रधानमन्त्री ज्युबाट नास्टको वैज्ञानिक सम्मान कार्यक्रममा भएको सम्बोधन 2 1024x628 1

परापुर्वकालमा औषधि विज्ञानका क्षेत्रमा महर्षि चरकको असाधारण योगदान, शल्य चिकित्साको क्षेत्रमा श्रुषुत संहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितिज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रस्फुटनका लागि थुपै स्थान बाँकी रहेको पनि बताउनुभयो । विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने उहाँको धारणा रहेको छ ।

“सन् १९७० को दशकसम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुनायोग्य काम गरिरहेका छन् ।”

हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाइमा प्रवर्द्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।

यसै गरी उहाँले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकाको भूमिगत जल सञ्चयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा डा।आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा।अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र डा।सागर रेग्मीलाई क्यान्सर र व्यायामको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी महिला विज्ञान पुरस्कार डेंगुरोगकाृ फैलनमा तापक्रमको भूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो ।

विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनीषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।