१५ बैशाख २०८१, शनिबार

काठमाडौंमा आजदेखि सबै खाले सार्वजनिक गाडी चल्न थाले

bus
फाइल फोटो

काठमाडौं उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा गाडीको चाप बढेको छ । गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम लगाइएको छ । यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । गाडीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ। यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ । यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ ।