१५ चैत्र २०८०, बिहीबार

पूर्वाधार कर फिर्ता लिइयोस्, नत्र संसद अवरुद्ध हुन सक्छ : गिरी

sarita giri samajwadi

पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने सरकारको निर्णयको समाजवादी पार्टीले विरोध गर्दै कर फिर्ता नलिए यही विषयलाई लिएर संसद अवरोध गर्ने चेतावनी दिइन् । आइतबार संसदमा समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले भनिन् ‘अर्थमन्त्रीजीले संसदको सार्वभौमिकतालाई हस्तक्षेप गरी कर लगाउनुभएको छ, यसलाई फिर्ता लिनुहोस्’ ।

उनले कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको दावी गर्दै संसदले मात्र त्यस्तो निर्णय गर्न पाउने तर्क गरिन् । विश्वव्यापी सिद्धान्त र अभ्यासको विपरीत सरकारले चोर बाटोबाट कर वृद्धि गरेको उनको आरोप थियो । संसद छलेर चोर बाटोबाट जनतालाई कर लगाइएको भन्दै उनले सरकारको राजस्व संकलनको लक्ष्य पूरा गर्न जनतामाथि कर थोपर्न नपाइने बताइन् ।

‘सरकारले ७ महिना बित्दा पनि लक्ष्यको ४६ प्रतिशत करमात्र संकलन गर्न सकेको छ । आफ्नो विफलता लुकाउन चोर बाटोबाट कर बढाउने निर्णय गरेको छ । त्यो फिर्ता लिनुपर्छ’ सांसद गिरीले भनिन् ।