८ बैशाख २०८१, शनिबार

नेपालमै बनेको रेमसिभिर कोरोनाविरुद्धको लडाइँमा अब सर्वसुलभ

60d967b05bf77 remdciver1

कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

काठमाडौँको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उहाँलाई राजधानीको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भनेपछि उहाँका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहार्नुभयो, नेताहरूलाई भनसुन गर्नुभयो । जति मूल्यमा पनि खरिद गर्न तयार हुनुभयो तर बजारमा रेम्डेसिभिर अभावका कारण पाउन सक्नुभएन । त्यसको केही दिनपछि बुवाको निधन भयो ।

चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उहाँलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए । रेम्डेसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डेसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’ हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुन सक्ने भन्दै त्यो विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग छलफल भइरहेको जानकारी दिँदै उहाँले नीति परिवर्तन गरेर खोप उत्पादन गर्न सकिने बताउनुभयो । जनशक्ति टेक्नोलोजी ट्रान्सफर भएको अवस्थामा नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन हुने दाबी डा. ज्ञवालीले गर्नुभयो ।

आयान हेल्थ केयरका प्रमुख डा. अबुल अन्सारीले कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा रेम्डेसिभिरको चरम अभाव रहेको जानकारी दिनुभयो । त्यो बेला रेम्डेसिभिर पु¥याउन धेरै ठूलो सकस परेको जानकारी दिँदै उहाँले अहिले त्यो अवस्था नरहेको बताउनुभयो । आयान हेल्थ केयरले मात्र ४० हजार भायल रेम्डेसिभिर बङ्गलादेशबाट ल्याएको जानकारी दिँदै उहाँले तीमध्ये अहिले पनि तीन हजार मात्रा बाँकी रहेको बताउनुभयो ।

डा. अन्सारीले नेपाली बजारमा जति पनि आएका रेम्डेसिभिरको गुणस्तर परीक्षण गर्नुपर्ने बताउनुभयो । सङ्क्रमितको सङ्ख्या घटेको र रेम्डेसिभिरको आपूर्ति बढी भएर अवस्था सहज भएको उहाँले जानकारी गराउनुभयो । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले अब नेपालमा रेम्डेसिभिरको अभाव नहुने बताउनुभयो ।

केही समय अघिसम्म चरम अभाव रहे पनि हाल मागभन्दा आपूर्ति बढी भएको जानकारी दिँदै उहाँले रेम्डेसिभिर नेपालमा उत्पादन हुन थालेको र विभागले बजारमा ल्याउन स्वीकृति दिइसकेको जानकारी दिनुभयो । नेपालमा रेम्डेसिभिर उत्पादन भइसकेको छ । वीरगञ्जस्थित नेसनल हेल्थ केयर प्रालिले रेम्डेसिभिर उत्पादन गरेको हो ।

नेसनल हेल्थ केयरका कार्यकारी निर्देशक जगदीश रुङ्गटाले हाललाई १५ हजार मात्रा रेम्डेसिभिर (रेमसिभिर) उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले आइतबार औषधि व्यवस्था विभागबाट बजारमा ल्याउनका लागि स्वीकृति दिइएको बताउनुभयो । एक साताअघि यो रेम्डेसिभिर नेपाली बजारमा आएको हो ।