
एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधवकुमार नेपाल समूहलाई विपक्षी गठबन्धन रोज्ने कि एमाले पार्टी रोज्ने भन्दै आइतबारसम्मका लागि अल्टिमेटम दिएको छ । दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वतहः एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठक अब प्रतिनिधि सभा विघठन सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्नेगरी सकिएको छ ।
एमालेको शुक्रबारको बैठकले नेपाल समूहलाई दुई दिनसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो तर नेपाल समूह हस्ताक्षर फिर्ता नलिने अडानमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बैठकमा नेपाल समूहले आइतबारसम्म हस्ताक्षर फिर्ता नलिए एमाले एकता उनीहरूकै कारण भाँडिने बताएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफ्नै विपक्षी गठबन्धनसँग मिलेर आफ्नै सरकार ढलाउने खेलमा लाग्नेहरू एमालेको नेता तथा कार्यकर्ता हुनै नसक्ने ठोकुवा गरे । उनले नेपाल समूह पार्टी एकताका लागि गम्भीर र संवेदनशील नभएको स्पष्ट पारे । अब कसैलाई कुर्दैनौं, पार्टी आफ्नै गतिले अघि बढ्छ,’ अध्यक्ष ओलीले भने ।