६ बैशाख २०८१, बिहीबार

टीकापुरको नगरसभा फेरि स्थगित : वडा विभाजनप्रति असन्तुष्टी

tikapur nagarpalika

कैलाली, जिल्लाको टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ।

हिजो हुने भनिएको नगरसभा असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता दीर्घ ठकुल्लाले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा पटकपटक स्थगित हुँदै आएको छ।

राजनीतिक दलहरुले वडा विभाजनमा आफैले दिएको अघिल्लो सुझावलाई फेरेपछि नागरिकस्तरमा असन्तुष्टी बढेको हो। दलहरुले वडा नं. १ लाई ५ वडामा विभाजन गर्न पहिलो सुझाव दिएका थिए। वनगाउँका बासिन्दाले ५ वडामा असहमति जनाउँदै नगरपालिकामा तालाबन्दी गरेपछि दलहरुले ६ वडा बनाउन अर्को सुझाव दिएका थिए।

वनगाउँका बासिन्दाको माग सम्बोधन भएपछि अन्य ठाउँका बासिन्दा समेत वडा विभाजनको विरोधमा उत्रिएका छन्। उनीहरुले दलहरुले दिएको पहिलो सुझावलाई नै कार्यान्वयन गर्न माग गरेका छन्।

राजनीतिक दलहरुको पछिल्लो सुझावप्रति ब्लक नं. बी, सी, २४, २५ का बासिन्दाले विरोध जनाएका छन्। उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन्। उनीहरुले आफूहरुको माग सम्बोधन नभएरै नगरसभा अघि बढे राम्रो नहुने चेतावनी दिएका छन्।

वनगाउँलाई समेटेर ६ वडा हुनुपर्ने माग गर्दै आएका वडाध्यक्ष रामलाल डगौरा थारुले वडा विभाजन हुन नदिने षडयन्त्र भैरहेको बताए। उनले केही व्यक्तिहरुले जबरजस्ती नगरसभालाई प्रभावमा पार्न खोजेको बताए। नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले वडा विभाजनको मुद्दालाई बढी राजनीतिकरण गरिएको आरोप लगाए।

उनले एक अर्का प्रतिको राजनीतिक इगोले वडा विभाजनको मुद्दामाथि राजनीतिकरण भैरहेको बताए। उनले वडा विभाजनजस्तो राजनीतिक मुद्दा दलीय सहमतिमै हुनुपर्छ भन्ने मान्यताले राजनीतिक दलहरुको सुझाव मागेको बताए।