७ बैशाख २०८१, शुक्रबार

चालू आवमा १८ कम्पनीलाई आइपिओ विक्रीको अनुमति

ipo

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको जनाएको छ ।

सो कम्पनीले कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर असार २४ गतेबाट बिक्री शुरु गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको छ ।

त्यस्तै सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको सङ्ख्या समेत एक वर्षको अवधिमा साढे तीन गुणाले बढेर २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्कासनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा २० लाखभन्दा बढीले आवेदन दिन थालेका छन् ।

पछिल्लो पटक सार्वजनिक निष्कासन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

धितोपत्र बजार अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजर आइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर छ लाख ६० हजार बढी पुगेको छ । दैनिक छ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् ।

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।