८ बैशाख २०८१, शनिबार

अवकाश पाए उपसचिव प्रेम सञ्जेलले : जाँदाजाँदै भने-‘म कर्मचारी कि दलाल’

Prem sanjel

निजामती सेवामा रहेर भ्रष्टचारविरुद्ध खरो रुपमा उत्रिने उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् । ५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।

४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका छन्। आफू पनि घूस नखाने र घूस दिनेलाई डण्डा लगाउने उनी सेवामा रहन्जेल यसरी नै तल्लीन रहे ।

निजामतीमा सेवामा २०३८ साल कात्तिक २८ गते खरिदारबाट प्रवेश गरेका हुन्, सञ्जेल । ०४६ साल असार २७ गते नायब सुब्बामा बढुवा भएका उनी २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भए ।

बढुवा भएपछि श्रम कार्यालयमा खटिएका उनले कार्यालयमा हुने बेथितीको अन्त्य गर्न लागिपरे। श्रम कार्यालय विराटनगरमा सरुवा हुँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडो चुनौती दिएका थिए ।

श्रममा रहँदा सञ्जेलले विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग, गैरकानुनी रुपमा विदेश पठाउने तथा कामदारलाई शोषण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई कारबाही गरे। उनले वैदेशिक रोजगारीका नाममा ठगिएको ३ करोड १० लाख रुपैयाँ असुल गरिदिए।

उनले अवकासअघि श्रम कार्यालयमा रहँदा वैदेशिक क्षेत्रलाई तहसनहस पार्न खोज्ने ११० जनालाई हिरासतमा थुनिदिए । र, ठगिएका ४ हजार ५ सयभन्दा बढीलोई न्याय दिलाइदिए ।

सञ्जेलका अनुसार २ वर्ष ८ महिना १४ दिन श्रम कार्यालयमा बिताउँदा १० हजारभन्दा बढी मजदुरलाई न्याय दिइएको छ ।

अवकास लिएर जाँदाजाँदै उनले फेसबुकमार्फत नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब रहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन् । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।’

स्थायी नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरेर अवकास पाएका सञ्जेलले कर्मचारीलाई प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नै देश सुधार्न के कसम खायौँ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनी, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ ? मैले भ्रष्टाचारबिरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिँडने आबश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर÷स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद’

अन्तमा उनले एउटा कवितामार्फत् आफ्नो भनाइ अन्त्य गरेका छन् । उनले ‘म कर्मचारी कि दलाल’ शिर्षकमा खरो रुपमा आफ्नो भनाइ राखेका छन् ।