१५ चैत्र २०८०, बिहीबार

निर्वाचनमा जुट्न आव्हान, फैसला अघि नै सँच्चिन नेपाल पक्षलाई आग्रह

60e068e3b8d76 uml 123

नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

शनिबारको बैठकमा हिजो नै पार्टी अध्यक्ष ओलीले पार्टीको संगठनात्मक प्रतिवेदनबारे स्पष्ट पार्नु भएबमोजिम आजको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजना प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीका थापाले बताउनुभयाे । बैठकले आगामी असार मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रीय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारिएको थियो ।

एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने छलफल गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो ।यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय आजको एमाले केन्द्रीय कमिटीको बैठकले गरेको ।

यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने थापाले जानकारी दिनुभयाे । एमालेको आजको बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेकाे छ। आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालले निर्णय गरेको थापाले बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको आजकाे बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई विपक्षी गठबन्धनसँग मिलेर सरकार गठन गर्ने लगायतका विषयमा पार्टी अध्यक्ष ओलीले पुन: स्पष्ट पार्नुभएको र सर्वोच्च अदालतले फैसला गर्नु अगावै नेपाल पक्षलाई सच्चिन र पार्टी एकतालाई जोड दिन पुन: आग्रह गरिएको थापाले बताउनुभएको छ ।