१३ बैशाख २०८१, बिहीबार

समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन

oli1

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सब स्टेसनको आज भर्चुअल उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले ओलीले सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढङ्गले अघि बढाएको समेत बताउनुभयो ।

‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सब लाइनहरू नहुनेजस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौँ’, प्रधानमन्त्रीको भनाई थियो ।

नेपालले करिब एक सय १० वर्षअघि ऊर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामा नै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरूप हालका वर्षहरूमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

हाम्रो बहु आयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाइ भएको धारणा पनि प्रधानमन्त्रीको थियो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले कोभिड विरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट वञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्त हुने बताउनुभयो । ‘‘कोभिडसँग लड्नुुुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’’, उहाँको भनाई थियो । यद्यपि सबैलाई एकै पटक खोप सम्भव नहुने भन्दै उहाँले समूहगत रूपमा क्रमशः सबै जनतालाई खोप लगाइने बताउनुभयो ।

यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिका कारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनामा सरकारले ध्यान दिइरहेको बताउनुभयो ।

राहतका लागि सम्बद्ध स्थानमा रकम गइसकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सब स्टेसनदेखि किस्पाङ गाउँपालिकामा रहेको त्रिशूली ३ बी हब सब स्टेसन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।

कुल २६ कि.मि. लामो १३२ के।भी। डबल सर्किटको यो प्रसारण लाइनबाट समुन्द्रटार सब स्टेसनलाई काठमाडौँ उपत्यकाको मातातिर्थ सब स्टेसनमा मात्र नभई अन्य सब स्टेसनसँग समेत जोड्ने योजना रहेको जानकारी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिनुभयो ।

उहाँका अनुसार प्रसारण लाइनबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशूली ३ बी हब सब स्टेसनमा प्राप्त हुने ६ सय मेगावाटभन्दा बढी विद्युत्लाई सिँधै काठमाडौँ ल्याउन ठुलो मद्दत पुग्नेछ ।