१४ बैशाख २०८१, शुक्रबार

सप्तकोशीमा पानीको वहाव उच्च, ३० वटा ढोका खोलिए

Saptakoshi River Koshi Barrage 750x375 1

निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

शनिबार दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो । हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन हुन्छ । बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए ।

दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तटीय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको र सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।